कोरोनाका कारण लामो समयदेखि हुन नसकेको नेपाल–चीन सीमा बैठक कात्तिक अन्तिम साता चीनको बुराङ काउन्टीमा बसेको छ । दार्चुलाको नेपाल–चीन जोड्ने टिंकर नाका खुलेको जानकारी गराउने उद्देश्यसहित सीमा समन्वय बैठक बसेको हो ।
कात्तिक २८ गते भएको बैठकमा चीनिया पक्षले नेपालका दार्चुला, बझाङ र हुम्लाका सुरक्षा अधिकारी तथा जनप्रतिनिधि बैठकमा सहभागि गराएको थियो । खासगरी सीमा नाका खुलेपछिको जानकारी गराउने उद्देश्य अनुरुप चीनले बैठकको आयोजना गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनले भने, ‘खासै एजेण्डा नभएपनि चीनले नाका खुलेको जानकारी गराउने तथा स्थानीय तहलाई गर्ने सहयोगको बारेमा जानकारी गराउने उद्देश्य रहेछ ।’
यस्तै बैठकमा सीमामा सूचना आदानप्रदान तथा सहजता कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ । भारतसँग सीमा बैठक बस्दै आएपनि चीनसँग लामो समयदेखि बैठक हुन सकिरहेको थिएन्, प्रजिअ जोशीले भने, अहिले दुवैतर्फ अनुकुल भएपछि बैठक बसेको हो ।
बैठकलगत्तै चीनले नेपाली सुरक्षा अधिकारी, र जनप्रतिनिधिलाई कैलाश मानसरोवर दर्शन गराएको छ । दुई देशको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्य चीनको रहेको छ ।
बैठकमा सीमा सुरक्षा, विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी जोशीसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी तथा शैल्यशिखर नगरपालिका प्रमुख विजयसिह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी र व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी सहभागि थिए ।
यस्तै बझाङको साइपाल र सुर्मा गाउँपालिका, र हुम्लाका ४ वटा पालिका प्रमुख सुरक्षा निकाय प्रमुखहरुको बैठकमा सहभागि रहेको थियो ।
बैठकमा सीमा क्षेत्र जोडिएका जिल्लाका स्थानीय तहमा गर्न सकिने विकास निर्माणको बारेमा समेत चीनियाँ पक्षले चासो लिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए । उनले भने, ‘सीमा क्षेत्रमा विकास कसरी गर्न सकिन्छ, भन्ने चिनियाँको चासो देखियो ।’