सडक माथिबाट पहिरो खसेपछि बैतडी र दार्चुला जोड्ने सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका–४ जेउडेमा आइतबार साँझ पहिरो खसेर सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय पाटनका प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार दशरथचन्द राजमार्गस्थित जेउडेमा मोड सुधारका लागि कटिङ भइरहेको समयमा आइतबार साँझको ६ बजे माथिबाट पहिरो खसेको हो ।
पहिरो तत्काल पन्छाउन सकिने अवस्था छैन । ‘पहिरो खसेको क्षेत्रको तल घर र माथि बिजुलीको हाईटेन्सन लाइन रहेकोले तत्काल पहिरो पन्छाउन सकिएको छैन’ उनले भने, ‘सोमबार बिहान ६ बजेबाट दुइटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम हुन्छ ।’
प्रहरी र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेकोले पहिरोको जोखिम बढ्ने सम्भावना छ । अझै पनि बेला–बेला माटो खसिरहेको छ । रातिको समयमा माथिबाट पहिरो आएको नदेखिने हुँदा अहिले काम गर्न नसकिएको डिभिजन प्रमुख जोशीको भनाइ छ । केशर कन्ट्रक्सनले मोड सुधारको काम गरिरहेको थियो ।
सडक अवरुद्ध बनेसँगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधनहरु त्यही रोकिएका छन् भने यात्रुहरु अलपत्र छन् ।
दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरुलाई सतबाझसम्म र तराईदेखि पाटन उताको सवारी र यात्रुहरुलाई पाटनमा रोकिन प्रहरीले आग्रह गरिरहेको छ । यसका लागि लोकमार्ग क्षेत्रका प्रहरी युनिटहरुलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।