भाइटीकाको शुभसाइत १८ कात्तिक बिहान ११ः३७ बजे

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। १८ कात्तिक (आइतबार) बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबारको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।
पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहार १३ कात्तिक मंगलबारदेखि सुरु हुँदै छ। मंगलबार धनत्रयोदशी ९धनतेरस० पर्व मनाइन्छ। यमदीप दान भने १४ कात्तिक बुधबार परेको छ। काग तिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि बुधबार नै मनाइन्छ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि १५ कात्तिक बिहीबार मनाउनुपर्छ। १६ कात्तिक शुक्रबार औँसी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
१७ कात्तिक शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ परेको छ। यसैगरी, २२ कात्तिक बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार