सरकारले दार्चुलाको त्रिदेशीय सीमा टिंकरमा अध्यागमन कार्यालय खोल्ने भएको छ । चीनसँग हुने व्यापार सहजताको लागि टिंकरमा अध्यागमन कार्यालय खोल्ने भएको हो ।
कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु दार्चुला खारेज गर्ने तथा टिंकरमा अध्यागमन कार्यालय राख्ने निर्णय गरेको हो । जसको लागि सरकारले संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु, दार्चुला खारेज गर्ने निर्णय भएको सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
सीमा प्रशासन कार्यालय व्याँस, छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज जिल्ला सदरमुकाम खलंगाबाट हुँदै आएको छ । यसले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकर जान बहुयात्रा अनुमति पास दिदै आएको छ । नेपालतर्फ बाटो नहुँदा भारतीय मार्ग प्रयोग गर्दै व्याँस जानुपर्ने बाध्यता छ ।
व्याँसको टिंकरमा अध्यागमन कार्यालय खुल्ने भएपछि स्थानीय राजनीतिक दलका नेता र स्थानीय खुसी भएका छन् । स्थानीय नगेन्द्र तिंकरीले भने, अध्यागमन खोल्ने सरकारको निर्णय स्वागत योग्य छ ।
यस्तै पूर्वमन्त्री गणेशसिह ठगुन्नाले व्याँसको टिंकरमा अध्यागमन खोल्ने सरकारको निर्णय दार्चुलाको विकास र सम्बृद्धिको लागि ऐतिहासिक सफलतना भएको लेखेका छन् । उनले लेखेका छन्, ‘अब टिंकर नाका भएर कैलाश मानसरोवर यात्राको ढोका खुल्यो ।’