दार्चुलामा नेपाल–भारत जोडने झोलुङ्गे पुल तालाबन्दी भएकाे २ घण्टापछि खुलेको छ । उद्योग वाणिज्य संघ दार्चुलाको अगुवाईमा भएको व्यापारीहरुको आन्दोलनका कारण सीमा पुलमा २ घण्टा तालाबन्दि भएको थियो ।
गएराति प्रहरीले महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगडमा व्यवसाय गर्दै आएका बीरबहादुर बोहरा बीएम जनरल स्टोरको गोदामबाट दुई लाख ३७ हजार ६ रुपैयाँ मूल्य बराबरको समान र नौगाड गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगडमा करनसिंह ठगुन्नाले संचालन गर्दै आईरहेको ठगुन्ना किराना पसलको गोदामबाट ४७ हजार ४ सय ७० मूल्य बराबरको भन्सार छली गरि ल्याएको सामान बरामद गरेको थियो ।
व्यापारीसहित समान समातेको भन्दै आक्रोशित व्यापारीहरुले सोमबार खलंगास्थित नेपाल -भारत जोड्ने झोलुङ्गे पुल बन्द गराएका हुन् । व्यापारीहरुलाई दुख दिने नियतका साथ राति छापा मार्दै समान बरामद गरेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश थापा बताउँछन् ।
‘हामीले भन्सार काटेर समान ल्याएका छौ’ उनले भने । तर प्रहरीले दुख दिने व्यापारी तर्साउने नीति लिएकै कारण पहिलो चरणको आन्दोलन गर्नुप¥यो ।’ प्रहरीले दार्चुला सदरमुकाम खलंगामा ९ बजे पसल बन्द गराउने गरेको छ । राति एक्कासी १० बजे आएर पसलमा छापा मारेको व्यापारीको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावत भने व्यापारीसँग सामान ल्याएको र भन्सार काटेको कुनै प्रमाण नपाएकै कारण बरामद गरिएको दाबी गर्छन् । उनले भने, ‘कानुनसम्मत हुने कुरामामा हामी छोड्दैनौ ।’ प्रहरीले समातेका व्यापारी र समानलाई भन्सार कार्यालय बुझाउने तयारी भएको उनले बताए । हामीले नियन्त्रमा लिएका छौं बाकी कारवाही गर्ने नगर्ने जिम्मा भन्सारलाई छोड्छौ ।
यसैबीच उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र भन्सारका अधिकारीबीचको छलफलपछि पुल सुचारु गरिएको छ । छलफलमा पक्राउ गरिएका व्यापारीलाई छोड्ने तथा भन्सार बील नभएका समानलाई जफत गर्ने सहमति गरिएको छ ।