यार्सागुम्बाको मूल्य घटेपछि यो वर्ष बिक्री अत्यन्तै न्यून भएको छ । दार्चुलाबाट यो वर्ष ६६९ किलोग्राम यार्सागुम्बा निकासीको अनुमति दिने लक्ष्य अपि–नाम्पा संरक्षण क्षेत्रले राखेको थियो । तर, हालसम्म ३६९ किलोग्राम मात्रै यार्सागुम्बा निकासी भएको छ ।
अन्तर्राष्ट्रिय बजारमै यार्सागुम्बाको बिक्री मूल्य घटेपछि नेपालमा यसको असर देखिएको छ, व्यापारी धनसिह जागरीले भने । काठमाण्डौं पुगेको यार्सागुम्बा समेत बिक्री हुन पाएको छैन् । सुरुमा संकलकहरुबाट बढि मूल्यमा यार्सागुम्बा खरिद भएको छ । ‘अहिले आएर बजारमा मूल्य ह्वात्तै घट्यो,’ जागरी भन्छन्, ‘यस्तो अवस्थामा व्यापार कसरी गर्नु ?’
आफुले गाउँबाट संकलन गरेकै यार्सागुम्बा बिक्री गर्न नपाएको उनको भनाई छ । सुरुमा गाउँमामा ‘ए’ ग्रेडका यार्सागुम्बाको मूल्य २५ लाख रुपैयाँसम्म पुग्यो, अहिले आएर बजारमा २० लाखसम्म पनि रेट पाइएको छैन् । बजार मूल्य घटेकै कारण व्यापारीले पछिल्लो समय यार्सागुम्बाको निकासी लगेका छैनन् ।
‘संकलकहरुसँग महङ्गो मूल्यमा खरिद गरिएको यार्सागुम्बा सस्तोमा बिक्री गर्नु पनि भएन्,’ अर्का व्यापारी कमलसिह धामीले भने । ‘अहिलेको बजार मूल्यले एक किलोग्राममा झण्डै पाँच लाख रुपैयाँ घाटा छ ।’ अहिलेसम्म यार्सागुम्बा बिक्री हुन नसक्दा व्यापारीहरु मार्कामा परेको धामीले बताए । व्यापारीहरुले अहिले गाउँ–गाउँमा गएर संकलकहरुबाट यार्सागुम्बा खरिद गरे पनि मौज्दात रोकिएको छ ।
दार्चुलाबाट यार्सागुम्बा निकासीको लागि कार्यालयले जहिल्यै पनि अनुमति दिएपनि पछिल्लो समय कम हुँदै गएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत विनय कुमार झाले बताए । ‘यार्सागुम्बा कहिलेसम्म विक्री गर्ने भन्ने निश्चित समय हुँदैन्’ उनले भने, ‘निकासी भएको मितिले एक महिनासम्म म्याद नै हुन्छ ।’
यार्सागुम्बा निकासीबाफत अपिनाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको छ । कार्यालयले अहिलेसम्म यार्सागुम्बा निकासीबाफत १ करोड १४ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
दार्चुलाका अपिहिमाल र ब्याँस गाउँपालिकाका पाटनहरुमा यार्सागुम्बा पाइने गरेको छ । यहाँको स्थानीयको आर्थिक स्रोत यार्सागुम्बा र जडीबुटी हो । अपिहिमालको लोलु, अपि फेद, सतगंगा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, तथा व्याँस गाउँपालिकाको दोपाखे, दुम्लिङ, अपि फेद, लगायतका पाटनमा यार्सागुम्बा पाइन्छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार हरेक वर्ष यार्सागुम्बा निकासी भइरहे पनि कहिले थोरै कहिले बढि विक्री हुने गरेको छ । जसअनुसार आर्थिक वर्ष ०७६।०७७ मा ३२६ केजी, आर्थिक वर्ष ०७७।०७८ मा ३०५ केजी,आर्थिक वर्ष ०७८।०७९ मा ७२५ केजी, आर्थिक वर्ष ०७९।०८० मा ४७२ केजी निकाी भएको छ । आर्थिक वर्ष ०८०।०८१ मा ६२८.७५ केजी यार्सागुम्बा निकासी गर्ने लक्ष्य कार्यालयको छ ।