भारतीय राजदूत श्रीवास्तवले गरे निर्माणाधीन मोटरेबल पुलको निरीक्षण

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबले नेपाल–भारत सीमा जोड्ने दार्चुला महाकाली नदिमा निर्माणाधीन मोटरबल पुलको निरीक्षण गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर ८ असिगडामा निर्माणाधीन मोटरेबल पुलको शुक्रवार निरीक्षण गरेका हुन् ।
राजदूत श्रीवास्तबले पुल अनुगमन गर्दै अबको छ महिनाभित्र पुल निर्माणको काम गरिसक्न भारतीय निर्माण कम्पनीका ठेकेदारहरूलाई निर्देशन दिए । पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पुलको नेपाल र भारत दुवैतर्फ पुलबाट सडक निर्माणका काम बाँकी रहेको छ । भारतीय निर्माण कम्पनीका जनरल म्यानेजर दलवीर सिंह लगायतका प्रतिनिधीहरुलाई दुवै देश तर्फको सडक जोड्ने बाटो पनि गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।
आगामी मार्चसम्म जुनसुकै हालतमा पनि काम सक्ने र दुवै देशतर्फ कुनै समस्या आएमा तत्काल समाधानका लागि दूतावास र दुवै देशका सरकारहरूलाई जानकारी गराउन पनि निर्देशन दिएका छन् ।
यस्तै नेपालतर्फ बनाउने पार्किङ र रोडको डिजाइन भारतीय पक्षले नेपाली प्रशासनलाई उपलब्ध गराउने विषयमा छलफल भएको छ । डिजाइन एक साताभित्र निर्माण कम्पनीलाई बुझाउन भनिएको छ ।
पुल छेउ नजिक रहेका नेपालतर्फको बिजुलीका पोलहरु हटाउन निर्देशन गरिएको छ । पुल निर्माणको लागि अपुग हुने थप बजेट भारतीय सरकारले उपलब्ध गराउने समेत बताइएको छ ।
निरीक्षणमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट लगायतको समेत सहभागिता थियो ।

सम्बन्धित समाचार

ताजा समाचार