खेती पाक्ने बेला किसानलाई सास्ती बादरलाई मस्ती

नौगाड गाउँपालिका–१ साङपाङका उदयसिह ठगुन्ना गत असारमा भारतबाट गाउँ फर्किएका थिए । हरेक वर्ष भारतमा मजदुरी गर्दै आएका ठगुन्ना यो वर्ष मकैको संरक्षणको लागि भन्दै गाउँमै बसे ।
जंगल र भीरपाखा नजिकको खेतमा लगाइएको मकैबाली बादरले सखाप पार्न थालेपछि बादर धपाउन ड्युटी गर्न थालेका झण्डै एक महिना हुन थालेको थियो । बिहानदेखि बेलुकीसम्म बादरलाई मकै खानबाट जोगाउन उनको खेतको आलीमा ड्युटी चलेको थियो ।
बुधबार बिहानपनि उनी बिहान ९ बजे बादर हेर्न खेतमा पुगे । खेत नजिकै पानी परेको बेला ओत लाग्न छानो बनाइएको छ । छाना छेउमै एउटा ठूलो रुख छ । रुखमा चढेर भीरबाट बादर आए नआएको हेर्ने क्रममा ठगुन्ना देवपुदाको भीरमा खस्न पुगे । झण्डै तीन चार सय मिटर तल खसेका कारण उनको घट्नास्थलमै मृत्यु भएको स्थानीय जानकी ठगुन्नाले जानकारी दिइन्् ।
‘गत वर्षसम्म आमाले मकै रेखदेख गर्ने गर्थिन्,’ उनले भनिन्, ‘यो वर्ष बाजे गाउँ आएको हुँदा बादर धपाउने र मकैको रेखदेख गर्ने गर्थे । रुखमा नचढेको भए केही हुने थिएन् । हुनेहार दैव नटार भनेझै भयो,’ उनले भनिन् ।
नौगाडको साङपाङ क्षेत्रका अधिकांश किसानको मकै बाली बादरले सखाप पार्ने गरेको छ । अधिकांश किसान बिहानदेखि बेलुकीसम्म बादर धपाउँदै बस्नुपर्ने बाध्यता छ । भीर नजिक र जङ्गल छेउका किसानलाई मकै नभित्र्याएसम्म समस्या छ ।
बाँदरको आतंकले वर्षेनी बारीमा लगाइएको मकै, भटमास, सिमी लगायतका बाली नोक्सान गरिरहेको छ । किसानले दुख गरि फलाएको अन्न बादरले क्षणभरमै सखाप पार्ने गरेकाे छ ।
नौगाड मात्र होइन्, अपिहिमालमा बादर आतङ्क बढेको छ । बाँदरको आतंकले गर्दा बालीमा क्षति पु¥याउने गरेको किसान बताउँछन् । महिनौ मेहनत गरेर लगाएको खेती बालि भित्त्र्याउने समयमा बाँदरले सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
बाँदरको क्षतिबाट बाली जोगाउनु स्थानीय दिनभर बाँदर धपाउन बारिमै बस्नुपरेको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिह कार्कीले बताए । बस्ती नजिकै वन रहेकाले बाँदर जुनसुकै समयमा पनि बारीमा आउने र मकै बालीमा क्षति पुर्याउने भएकाले यतिबेला त्यहाँका स्थानीय बादर धपाउदै बस्नुपर्ने बाध्यतामा रहेका छन् ।
वर्षेनी अन्नबाली बादरले नष्ट गर्दा गाउँबाट निकै टाढा बजारबाट चर्को मूल्यमा खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ६ महिनालाई पनि खान नपुग्ने अन्न उत्पादन हुन्छ । त्यसमा पनि बादरले सखाप पार्दा झन समस्या हुने गरेको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार