मार्मा गाउँपालिका–४ मर्मतीका बीरे विष्टको परिवार अझै घर फर्किन पाएका छैनन् । गत असार अन्तिमसाता आएको गन्याड खोलामा आएको बाढिपहिरोका कारण विस्थापित भएका उनी अहिले पनि पन्तबगरमा इष्टमित्रको घरमा छन् ।
छोरा भोजराजको उपचारमा धनगढी मायामेट्रो अस्पतालमा छन् । घरमा रहेका आमा श्रीमति, छोराबुहारी अर्काकै घरमा बस्दै आएका छन् । बाढिपहिरोले घरको तल्लो ताला पूरै पुरिएको छ ।
उनीमात्र होइन्, सोही ठाउँका दामोदर विष्ट अहिले रिलपहिरो क्षेत्रमा कुखुरा राख्ने पोल्टीफार्ममा बस्दैछन् । बाढिले घरपूरै डुबाएपछि कुखुरा खोरमा बस्नुपरेको छ । खेतीयोग्य जमिन केही बेचेको छैन् ।
तपोवन–मुरै सडक खण्डले पूरै माटो गन्याड खोल्सामा थुपारेका कारण बाढि आयो उनले भने, बस्तीको माटो त्यही फालियो । अहिले बस्ती पूरै बगरमा पणित छ ।
बीरे विष्ट भन्छन्, धान लगाएको खेत बगर बनेको छ । घरको माथिल्लो तालामा रहेको केही अन्न जोगाउन सकियो । त्यही अन्न अहिले खाइरहेका छौं । आगामी दिनमा कसरी परिवार पाल्ने हो । अहिलेसम्म राहतको नाममा गाउँपालिकाबाट एक कठ्ठा चामल पाइएको छ ।
परिवार बच्यौ तर अब खान नपाएर भोकमरी हुने अवस्था पुगेको उनी सुनाउँछन् । भएको सम्पत्ति छोराको उपचारमा लगाउँदैछु । बाढिपछि चमेलियामा दाउँरा निकाल्ने क्रममा छोराले चोट लाग्यो । त्यहि उपचार हुँदै छ ।
गाउँमाथि सडक जाने वित्तिकै हामीले गाउँपालिकालाई भनेकै हौ उनले थपे, तर केही हुँदैन भनेर टारियो । मुरैका स्थानीयले माटो फाल्न नदिएपछि गन्याडको खोल्सामा थुपारियो । सडकको पानी त्यही आयो । त्यही पानी खोल्सा बन्दै बाढिमा परिणत भयो ।
बाढीपहिरोले पशु धनको क्षति समेत भयो । अहिलेकै अवस्थामा हिउँदमा समेत यहाँ बस्न सकिने स्थिति नरहेको मर्मतीका स्थानीय चन्द्रा बिष्टले बताइन् । घरको तलबाट चमेलिया नदिले वर्षेनी कटान गरिरहेको छ । गाउँमाथिबाट पहिरोले च्यापेपछि बिचल्ली छ ।
मर्मतीकै हेमन्ती विष्ट अहिले आफन्तको घरमा छिन् । श्रीमान वैदेशिक रोजगारीमा भएको बेला बाढिपहिरो आयो । अहिले बालबच्चाको पालनपोषणमा समेत समस्या भएको उनले सुनाइन् ।
भूगोल कमजोर रहेको क्षेत्रमा जबरजस्ती सडक निर्माण गरिदा यति ठूलो पहिरो निम्त्याएको स्थानी दीपेन्द्र विष्ट बताउँछन् । माथिल्लो भेगका नागरिकलाई जसरी पनि सडक चाहिने, तर सडक निर्माण गर्दा निस्केको माटो व्यवस्थापन गर्न नसक्दा खोल्सा भरिएर बाढि बन्यो ।
सडक नकाटिएको भए कहिल्यै यो क्षेत्रमा पहिरो आएको थिएन, विरे विष्ट भन्छन्, मै यो क्षेत्रमा बसेको ५० वर्ष बढि भयो । तल पूरै खेतीयोग्य जमिन र बगर क्षेत्र हो । माथिबाट त्यस्तो बाढिपहिरो आउने केहि छैन् । खानेपानी ल्याएको गन्याड खोला पनि टाढै छ । तर ग्न्याडको सिरैमा माटोको थुप्रो लागेपछि खोलामा परिणत भयो । सोहीका कारण अहिले यहाँका स्थानीय के गरौ कसौ गरौ भएको छ, उनले भने ।
अहिलेसम्म बाढिपहिरो प्रभावितलाई स्थानीय सरकारले एक कठ्ठा चामल, त्रिपाल, रेडक्रस र सिआरडिएस नेपाल नामक संस्थाले त्रिपाल कम्मल सहयोग बाहेक केही पाएका छैनन् ।
मार्माको पहिरोको अवस्थाबारे गठित समितिले तयार पारेको प्रतिवेदनअनुसार यस क्षेत्रका ३५ परिवार प्रभावित भएका छन् । भने १७ घरधुरीको पूर्णतया क्षति पु¥याएको समितिका संयोजक एवं पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर हर्कराज जोशीले जानकारी दिए ।
स्थानीय तपोवन–मुरै–सिप्टी सडक खण्डका कारण गाउँ उजाड भएको भन्दै यसको जिम्मा निर्माण कम्पनीले लिनुपर्ने बताउँछन् । यो सडक खण्डको डीपीआर निर्माण नै गलत भएको स्थानीयले आंशका गरेका छन् ।
यो सडक प्रदेश सरकार र संघीय सरकारको समपुरक बजेटमार्फत निर्माण भइरहेको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताए । उनले भने, सडकको डीपीआर बनाउनेदेखि बजेट विनियोजन गर्नेसम्मको काम प्रदेश सरकारले नै गरेको हो । बाढिपहिरो पीडितको लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने काम भइरहेको उनले बताए ।
