दार्चुला । सबैभन्दा सुरक्षित तवरले बस्नुपर्ने प्रहरी सबैभन्दा बढि असुरक्षित र असावधानी तरिकारले बसेका छन् । दार्चुलाको त्रिदेशीय सीमा तिंकर नजिकैको छायालेकमा अवस्थित प्रहरीको हालत यस्तै छ । इलाका प्रहरी कार्यालय छायालेकका प्रहरी वर्षौदेखि चुहिने र जीर्ण भवनमुनि बसेका छन् । नेपाल–चीन सीमास्तम्भ नजिकै बसेको प्रहरीको यो समस्याबारे राज्य बेखबर जस्तै छ । यो चौकीमा प्रहरीको छ महिना बस्ने गर्छन् । तर छ महिना पनि ढुक्कले निदाउन पाउँदैनन् ।
व्याँस गाउँपालिका–१ को छायालेकमा प्रहरीले हरेक वर्ष जीर्ण भवनमुनि बसेर सीमाको सुरक्षा गर्नुपरेको छ । १२ जनाको जनशक्ति अहिले यहाँ तैनाथ छ । छ महिना अत्यधिक हिमपातका कारण प्रहरी यहाँ बस्न सक्दैन् ।
प्रहरी बस्ने नयाँ भवनको लागि पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको सुरक्षाकर्मीको गुनासो छ । प्रहरी बस्ने भवन नै जीर्ण भएपछि पानी पर्दा, हावाहुरी चद्यदा सास्ती खेप्नु परेको छ । जस्तापाताले छाएको भवन छानो चुहिने छ । सुत्ने कोठाको झ्याल छैन । सुतेको बेला कतिखेर भत्किन्छ भन्ने डर छ, नाम उल्लेख नगर्ने शर्तमा प्रहरी जवान बताउँछन् ।
हाम्रो गुनासो कसलाई भन्ने त ? सबैलाई यहाँको समस्याबारे अवगत छ । यहाँको चिसोमा बस्न सकिने अवस्था छैन् । दाउँरा पाउनै मुस्किल हुन्छ । यो अवस्थाबारे सरकारले सुनिदिएमात्रै सीमामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च हुन्छ । सेवा सुविधा केहि नभएको अवस्थामा बाध्य भएर यहाँ खटिनुपरेको उनीहरुको गुनासो छ ।
समुद्रि सतहबाट ३८ सय मिटरको उचाईमा छ छायालेक । व्याँस गाउँपालिका–१ को अन्तिम गाउँ तिकरबाट १ घण्टा हिडेर मात्रै छायालेक पुगिन्छ । छाङ्गरुसम्म भारतीय गाडीमा रासन ढुवानी गरिन्छ । छाङ्गरुबाट घोडा खच्चडमा ढुवानी गरेर यहाँ रासन खानुपरेको छ ।
अहिले सशस्त्र प्रहरी नम्बर ५० गुल्मबाट २५ जना सशस्त्र प्रहरी पनि छायालेकमा बस्छन् । उनीहरुको नयाँ भवन निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंह आफुहरुले गर्न सक्ने जति सुविधा दिएको बताउँछन् । भवनको अवस्था जीर्ण नै छ । यो भवनको सन्दर्भमा लेखापढि भए पनि कार्यान्वयनमा नआएको उनले बताए ।