कहिले होला मालिकार्जुन बालविवाह मुक्त घोषणा ?

मालिकार्जुन गाउँपालिकाका ८ वटा वडामध्ये ६ ओटा वडा बालविवाह मुक्त घोषणा हुन बाँकी छ । गाउँपालिकाले गत आर्थिक वर्षमा वडा नम्बर २ र ६ लाई बालविवाह मुक्त घोषणा गरेको थियो । बालविवाहविरुद्धको अभियान प्रभावकारी बनाइ अन्य वडालाई क्रमश बालविवाह मुक्त बनाउन गाउँपालिकाले काम थालेको छ ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये पहिलो बालविवाह मुक्त पालिका बनाउने गरी अभियान थालिएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए । उनले भने, ‘चालू आर्थिक वर्षभित्र अझै धेरै वडाहरु बालविवाह मुक्त बनाउन लागि परेका छौं ।’
‘मालिकार्जुन गाउँँपालिकाको शानः बाल विवाह मुक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने मुल नाराका साथ बालविवाह मुक्त वडा घोषणा गरिदैछन् । गाउँपालिकालाई २०८२ सालभित्र बालविवाह मुक्त गाउँपालिका बनाउने योजना रहेको अध्यक्ष धामीले बताए । उनले भने, अहिले सोही कार्ययोजना अनुसार गाउँपालिकाले गुड नेवर्ससँगको सहकार्यमा काम गरिरहेको छ ।
गाउँपालिकाको थालेको यो अभियानमा सहयोग गर्न अध्यक्ष धामीले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई समेत अनुरोध गरेका छन् । नागरिकलाई सचेत बनाउँदै अघि बढ्दै जानुपर्ने छ । ‘बालविवाह मुक्त गाउँपालिका बनाउन हामीसँग अझै बजेट अभाव छ,’ अध्यक्ष धामीले मन्त्री सार्कीलाई भने, ‘यो अभियानमा मन्त्रालयको तर्फबाट सहयोग हुनुप¥यो ।’
नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने सरकारको दिगो विकास लक्ष्य रहेको छ । सोहीअन्तर्गत गैरसरकारी संस्थाहरूको सहयोग र समन्वयमा मालिकार्जुन गाउँपालिकालाई बालविवाह मुक्त घोषणा अभियान थालिएको हो ।
अहिले मालिकार्जुनमा बालविबाह गर्नेको संख्या ६ प्रतिशत रहेको छ । २०७५ मा भएको सर्भेक्षण अनुसार पालिकाभरी २५ दशमलव ९६ प्रतिशत बालबिबाह रहेकामा ०७९।०८० मा यो घटेर ६ प्रतिशतमा झरेको गुड नेवर्स इन्टरनेशनल नेपाल दार्चुलाले जनाएको छ । चालू वर्ष गाउँपालिकाका अन्यवडाहरु पनि बालविवाहमुक्त घोषणा गर्ने तयारी छ ।
जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र स्थानीय तह बाल अधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशिल रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार