दार्चुलासहित सुदूरपश्चिममा गौरापर्वको रौनक

दार्चुलासहित सुदूरपश्चिममा गौरा पर्वले गाउँघरमा रौनक छाएको छ । सुदूरपश्चिमको मुख्य पर्व गौराअन्तर्गत सोमबार अठ्यावाली मनाइएको छ । हिजो आइतबार गौराघरमा भित्र्याइएको गौरालाई आज गौरा खलामा लगेर ब्रतालु महिलाहरुले पूजाआजा गरेका छन् ।
बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलनरही आएको छ । ब्रतालु महिलाहरुले भगवान गौरा–महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ ।
दिनभरी गौरा र महेश्वरको उत्पत्ति,गौरा र महेश्वरको हुर्काइ, बढाई, गौरा र महेश्वरको विवाह प्रसंग लगायतका कुराहरुमा अठ्यावालीमा समेट्ने गरिन्छ । यस्तै गौरा र महेश्वरको विवाहमा देवीदेवता र ऋषिहरुको आगमन भएको प्रसंग पनि अठ्यावालीमा ब्रतालु महिलाहरुले फागमार्फत समेट्ने गरेका छन् ।
अठ्यावाली सकिएपछि गौरामा चढाएका फलफूहरु गौराको प्रसादको रुपमा सबैको हातहातमा पुगोस् भनेर फल फट्काउने चलन समेतरही आएको महाकाली नगरपालिका–५ का हिरादेवी अवस्थी बताउँछिन् । ब्रतालु महिलाहरुले आजै नयाँ दुबधागो धारण गर्ने गर्दछन् । पुरानो दुबधागो फेरेर नयाँ दुबधागो धारण गर्ने परम्परारही आएको उनले बताइन् ।
यस्तै गौरापर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलनरही आएको छ । यस्तै सामूहिक रुपमा देउडा खेल्ने चलन समेतरही आएको छ ।
पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ ।
गौरा पर्व भाद्र शुक्ल अथवा कृष्ण पञ्चमीबाट शुरु हुने गर्दछ । यो बर्ष भाद्र कृष्ण पञ्चमीबाट गौरा शुरु भएकाले यो गौरालाई अँधेरी गौरा भन्ने चलन छ । पञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने गरिन्छ । अरु बेला देवीदेवताको पूजाआजा गर्दा अक्षताको प्रयोग गर्ने गरिएको भएपनि गौराको पूजा भने बिरुडाले गर्ने चलन रही आएको छ ।
गौराका लागि परदेश गएकाहरु पनि घर फर्किएकाले गाउँघरमा रौनक बढेको छ । बर्षको दिन चाडपर्व र एकआपसमा भेटघाट हुने भएकाले गाउँघरमा रमाइलो वातावरण बनेको छ ।


बसाइसराई गरेर गएकाहरु पनि गौराका लागि थातथलोमा फर्केकाले पारिवारिक मिलन र समाजिक सद्भावको वातावरण बनेको लेकम गाउँपालिकाका प्रमानन्द जोशी बताउँछन् । गौरालाई सामाजिक सदभावको पर्वको रुपमा समेत लिने गरिएको छ ।
गौराका लागि घरपरिवारका सबै सदस्यहरु एकै ठाउँमा भेटघाट हुने भएकाले गाउँघरमा रौनक छाएको छ ।


गौराको समयमा रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएकाहरु समेत फर्केकाले गाउँघरमा रमाइलो वातावरण भएको मालिकार्जुनका स्थानीय भवानसिह सामन्तले बताए । उनले भने ‘गाउँघरमा गौराको रौनक छाएको छ । गाउँका सबै मानिसहरु एकै ठाउँमा जमा भएर सुखदुख साटासाट गर्ने अवसर पनि मिलेको छ ।’
गौराको समयमा गौरा खलाहरुमा ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी र देउडा हुने भएकाले सबै मानिसहरुको जमघट हुने गरेको छ । यहाँका स्थानीय राति अवेरम्म ठाडो खेल देउडा खेल्न गर्छन् ।
यो समयमा गाउँघरका मानिसहरु एकै ठाउँमा जमा भएर गौरा मनाउने भएकाले सबैसंग भेटघाट हुने गरेको छ । सदरमुकाम खलंगाबाट स्थानीय गौरापर्वको लागि गाउँ गएका छन् । जिल्ला प्रशासन कार्यालयले राति ८ बजेसम्म मात्रै देउडा लगायतका कार्यक्रम गर्न भने पनि गाउँमा रातिसम्म ठाडो खेल देउडा चल्ने गरेको छ ।
गौरा पर्व मानसखण्ड क्षेत्रको मौलिक र सांस्कृतिक पर्व हो । गौराकै लागि देश विदेशमा गएकाहरु गाउँ पुग्ने हुँदा भेटघाट गर्ने तथा चेलीबेटी पनि माइत जाने चलन छ ।
खासगरी महाकाली नगरपालिका–५ को मोहती, वडा नम्बर ७ धाप, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ को मड लगायतका क्षेत्रमा गौरा विशेष हुने गर्छ । यो बाहेक व्याँस गाउँपालिका वडा नम्बर २ मालगाउँ, मार्मा गाउँपालिका वडा नम्बर ३ को सार्सी बजानी गौरा विशेष हुने गर्छ ।
यो वर्ष दार्चुलामा प्रहरीले गौरापर्वलाई भव्य बनाउन मदिरा विक्री वितरणमा कडाई गरेको छ । प्रहरीले जात्रा अवधिभर मदिरा विक्रीवितरणमा कडाई गरेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार