बालुवाटारमा जब प्रधानमन्त्री ओलीले छेउमै बसेका बडूलाई नचिनेपछि…

गत साउन ३२ गते शुक्रबार बिहान १० बजे टिंकर सडक र मार्मा गाउँपालिकाका पहिरो विस्थापित परिवार पुनःस्थापनाको माग लिएर दार्चुलाको प्रतिनिधिमण्डल बालुवाटार पुग्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले टोली नेता दिलेन्द्रप्रसाद बडूलाई चिन्दिन भनेको प्रसंगले अहिले चर्चा पाएको छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीका जनप्रतिनिधि र नेताहरू एकसाथ टोलीमा थिए । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको संयोजनमा दार्चुलाको प्रतिनिधित्व गर्दै ३५ जना नेता र जनप्रतिनिधि बालुवाटार पुग्दा व्यवस्थापनले १० जनाले मात्रै प्रधानमन्त्रीलाई भेटेर माग राख्न सक्ने बताएपछि २५ जना क्यान्टिन क्षेत्रमा रोकिए ।
पूर्वमन्त्री एवं सांसद दिलेन्द्रप्रसाद बडू, एमाले नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, माओवादी केन्द्रका जमनसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी र एमालेबाट निर्वाचित महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिरले प्रधानमन्त्रीसँग भेटेका थिए ।
मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिला सिंह, एमालेनिकट खेलकुद महासंघका नेता जगतसिंह धामी र दार्चुला घर भई पोखरा विश्वविद्यालयमा कार्यरत डा. खेमराज जोशी पनि प्रधानमन्त्री भेट्ने टोलीमा थिए ।
छोटो समय मात्रै उपलब्ध गराइएपछि भेटको शुरुमै एमाले नेता ठगुन्नाले प्रमुख उद्देश्य टिंकर सडकमा बजेट व्यवस्थापन र मार्मा गाउँपालिकामा बाढीपहिरोले पु¥याएको क्षति तथा विस्थापित परिवारलाई पुनःस्थापना रहेको बताएका थिए । एक मीनेटभित्र भेटघाटको उद्देश्य प्रस्तुत गर्दै नेता ठगुन्नाले ‘बाँकी विषयवस्तु पूर्वमन्त्रीज्यूले राख्नुहुन्छ’ भनी कुरा टुंग्याएका थिए ।
लगत्तै प्रधानमन्त्री ओलीले ‘को पूर्वमन्त्री ?’ भन्दै प्रश्न गरेपछि सहभागी सदस्यहरूले मुखामुख गरे । एकछिनमै प्रधानमन्त्रीले ‘मलाई ख्याल नै भएन’ भन्दै बडूलाई चिनेको सन्देश दिएको एक सहभागीले बताए । छेउमै बसेका कांग्रेस नेता एवं सांसद बडूले प्रधानमन्त्रीले ‘को पूर्वमन्त्री ?’ भनेको र एकछिनमै ‘मलाई ख्याल नै भएन’ भनेको विषयमा कुनै प्रतिक्रिया दिएनन ।
झण्डै ७० वर्ष उमेर पुग्न लागेका बडूले प्रधानमन्त्रीको भनाइ नसुनेर केही प्रतिक्रिया नदिएको हुनसक्ने बुझाइ अन्य सहभागीको छ । ‘बडूजीले प्रधानमन्त्रीले बोलेको स्पष्ट नसुनेको वा नबुझेको पनि हुनसक्छ, कुनै प्रतिक्रिया जनाउनु भएन’ प्रधानमन्त्रीसँग भेट गर्ने १० मध्येका एकजनाको भनाइ छ ।
त्यसपछि सांसद बडूले टिंकर सडकको केही पृष्ठभूमिसहित तत्कालको अवस्था र आवश्यकताबारे भनाइ राखेका थिए । करिब एक मीनेट बोलिसकेपछि प्रधानमन्त्रीले ‘मलाई सबै थाहा छ, डिटेलमा जानुपर्दैन’ भन्नासाथ बडूले आफ्नो भनाइ रोकेका थिए ।
टिंकर सडकबारे आवश्यक र उचित संबोधन गर्ने भन्दै प्रधानमन्त्रीले बसाइ छोट्याउन खोजे । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बाढीपहिरोबाट विस्थापित तीन दर्जन घरपरिवारलाई पुनःस्थापनाको मागसहित लिखित कागजपत्र बुझाए ।
लगत्तै लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले महाकाली कोरिडोरअन्तर्गत चमेलिया नदी (धन्थला) मा मोटरपुलको माग गरिएको पत्र बुझाए । त्यहाँ परिचयात्मक कार्यक्रमसमेत गरिएको थिएन ।
भेटघाट कक्षबाट प्रधानमन्त्री निस्किँदै गर्दा ढोकाको छेउमै व्यास गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले छुट्टै मागपत्र बुझाएर फोटो खिचाएका थिए । लगत्तै एमाले प्रदेश कमिटी सदस्य उमेशसिंह खत्रीले पनि फोटो खिचाएर फेसबुकमा राखे । प्रधानमन्त्रीसँग १० जनाको मात्रै भेटघाट भएपछि व्यास गाउँपालिका प्रवक्ता धामी र एमाले प्रदेश सदस्य खत्रीसहित २५ जना बालुवाटार परिसरमै प्रतिक्षारत थिए ।
भेटघाट कक्षबाट सांसद बडू नेतृत्वको टोली निस्किँदासम्म प्रतीक्षारत अधिकांश नेता र जनप्रतिनिधि फर्किसकेका थिए । पूर्वजिल्ला समन्वय समिति प्रमुख करवीरसिंह कार्की, कांग्रेस जिल्ला सचिव पुलेन्द्रबहादुर कार्कीलगायत बालुवाटार पुगे पनि प्रधानमन्त्रीलाई भेट्न पाएनन् । एक महिनाअघि साउन ६ गते मात्रै प्रतिनिधिसभाको बैठकमा सांसद बडूले प्रधानमन्त्री ओलीसँग टिंकर सडकमा पर्याप्त बजेट विनियोजन र छुट्टै बजेट शीर्षक उपलब्ध गराउनेबारे प्रश्न गरेका थिए ।
छोटो समय र संक्षिप्त भेटघाटको अवसर भएकोले हतारिएको परिवेशमा प्रधानमन्त्रीले ख्याल नगरेको हुनसक्ने अनुमान छ । आफैँ पूर्वमन्त्री रहेका एमाले नेता ठगुन्नाले थप भनाइ पूर्वमन्त्रीज्यूले राख्नुहुन्छ भनेपछि प्रधानमन्त्री अलमलमा परेको पनि हुनसक्छ ।
जनआस्थाबाट

सम्बन्धित समाचार

ताजा समाचार