बाढिले विद्युत नहर बगायो, दुम्लीङ गाउँ अन्धकारमा

व्याँस गाउँपालिका वडा नम्बर–२ दुम्लीङमा रहेको लघुजलविद्युतको नहर बगाएपछि गाउँ पूरै अन्धकार भएको छ । साउन २८ गते आएको घट्टेखोलामा आएको बाढिले नहर बगाएपछि एकसय बढि घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् ।
१८ वर्षअघि गरिबी निवारण कोषको सहयोगमा निर्माण गरिएको १४ किलोवाट क्षमताको लघुजलविद्युत निर्माण गरिएको थियो । विद्युतले तल्लो दुम्लीङ, मल्लो दुम्लीङका वस्तीको साथै, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र अपि नाम्पा संरक्षण क्षेत्रको रेन्जपोष्टमा समेत विद्युत वितरण गरिएको थियो ।
बाढिले पूरै नहर बगाएपछि अहिले पूरै गाउँ अन्धकार भएको वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीले बताए । यो ठाउँसम्म नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन् । विद्युत व्याँस गाउँपालिका–३ को सीनासम्म मात्रै पहुँच छ । हाम्रो वडासम्म विद्युतको लाइन तत्कालै पुग्ने अवस्था पनि छैन् अध्यक्ष बुढाथोकी भन्छन् । गाउँ पूरै लघुजलविद्युतको भरमा थियो । सोलार छैनन् ।
खोलाले विद्युतको नहरको साथै खोला छेउमा रहेका दुईवटा पानी घट्ट समेत बगाएको छ । गाउँभरीको लागि दुई वटामात्रै पानी घट्ट थियो । अब स्थानीयलाई पिसानीमा समेत समस्या भएको छ ।
बाढिले खोलामा रहेका तीन वटा काठे पुल बगाउँदा आउजाउमै समस्या भएको स्थानीय प्रभात बुढाथोकीले बताए । गाउँमै वारपार गर्न समेत समस्या भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार