मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष गणेशसिह धामीले आफुले गरेका प्रतिबद्धता कार्यकालभित्रै पूरा गर्ने गरी काम गरिरहेको बताएका छन् । मालिकार्जुन गाउँपालिकाको आयोजना तथा दार्चुला विकास संगठन दार्चुला, (सारथि एफ. एम ९०.७ मेगाहर्जको) सहजीकरणमा बुधबार भएको आर्थिक वर्ष ०८०÷०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाईमा बोल्दै यस्तो बताएका हुन् ।
स्थानीयले राखेको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष धामीले भने, मेरो यो दोस्रो कार्यकाल हो । मैले जनताको बीचमा गरेका प्रतिबद्धता पूरा गर्ने गरी काम गरिरहेको छु । धेरै काम भएका छन् । अझै मैले गर्नुपर्ने धेरै छन् । उनले थपे, ‘यहाँहरुले दिएको मतको कदर गर्दै जनतालाई सक्दो सेवा गर्ने आफ्नो चाहना दृढ छ ।’
हरेक वस्तीका समस्या समाधानको लागि सम्बन्धित वडा सदस्यमार्फत योजना कार्यान्वयन भइरहेका छन् । सकेसम्म कम भन्दा कम मान्छेको गुनासो आउने गरी आफुहरुले काम गरिरहेको उनले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव खगेन्द्रसिह धामीले गत आर्थिक वर्षमा वडाले प्रवाह गरेका सेवा, तथा कार्यान्वयन भएका योजनाको बारेमा जानकारी गराएका थिए ।
स्थानीयले स्रोत साधनको आधारमा वडाले राम्रो काम गरे पनि बजेट नै कम हुँदा सामान्य समस्या पूरा गर्न कठिनाई भइरहेको गुनासो गरेका थिए ।
पत्रकार नरेन्द्रसिह कार्कीले सहजीकरण गरेको कार्यक्रममा स्थानीय सुन्दरसिह धामी, चन्द्रसिह धामी, रामसिह धामी, पार्वती सामन्त लगायतले वडाले गर्नुपर्ने कामबारे सुझाव राखेका थिए । उनीहरुले खासगरी वडाका सानातिना कामलाई अझै प्रभावकारी बनाउन सके जनप्रतिनिधिमाथि कुनै गुनासो नआउने सुझाव दिएका थिए ।
