एसइई नतीजा : दार्चुलामा सबैभन्दा कमजोर अपिहिमाल गाउँपालिका

माध्यमिक शिक्षा परीक्षा २०८० मा दार्चुलाका ९ वटा स्थानीय तहका ७६ वटा माध्यमिक विद्यालय मध्ये सबैभन्दा कमजोर नतीजा अपिहिमाल गाउँपालिकाको आएको छ । समग्र विद्यालय, विद्यार्थी संख्या र उर्तीण दर हेर्दा कमजोर गाउँपालिकाको रुपमा अपिहिमाल देखिएको हो । अपिहिमाल गाउँपालिकाले ६.९ प्रतिशत विद्यार्थीमात्रै उर्तीण गराएको छ ।
प्रधानाध्यापक संघ नेपाल दार्चुलाले २०८० सालको एसइईको नतीजा विश्लेषण तथा सम्मान कार्यक्रममा समग्र जिल्लाको नतीजाको अवस्थाबारे अन्तरक्रिया गरिएको छ ।
नतीजाको समग्र मूल्याङ्कनमा नौगाड गाउँपालिका जिल्लाकै उत्कृष्ट नतीजा ल्याएको छ । नौगाड गाउँपालिकाले ४०.२१ प्रतिशत नतीजा ल्याएको छ । नौगाडका ७ वटा माध्यमिक विद्यालयबाट २७६ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा १११ जना विद्यार्थी उर्तीण भएका छन् ।
यस्तै द्धितीय महाकाली नगरपालिका रहेको छ । नगरपालिकाका १३ वटा माध्यमिक विद्यालयबाट ६०६ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा १९५ जना विद्यार्थी उर्तीण भए जुन ३२.१७ प्रतिशत हो ।
यसैगरी मालिकार्जुन गाउँपालिकाका ११ विद्यालयबाट १५८ जना विद्यार्थी परीक्षमा सहभाग्रि भएकोमा ३४ विद्यार्थी उर्तीण भए । जुन समग्रमा २१.५१ प्रतिशत विद्यार्थी उर्तीण हो । यस्तै दुुहुँ गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १७३ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा ३२ जना उर्तीण भए, जुन १८.४९ प्रतिशत हो ।
शैल्यशिखर नगरपालिकाबाट १४ वटा माध्यमिक विद्यालयबाट ५३३ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा ६६ जना विद्यार्थीमात्रै उर्तीण भए । जुन १२.३८ प्रतिशत उर्तीण हो । व्याँस गाउँपालिकाका ५ विद्यालयका १२८ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा १५ जना विद्यार्थी उर्तीण भए जुन समग्रमा ११.७१ प्रतिशत विद्यार्थी उर्तीण हुन ।
लेकम गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयबाट २७४ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा ३० जना विद्यार्थी उर्तीण भए । यस पालिकाको उर्तीण प्रतिशत १०.९४ रहेको छ । मार्मा गाउँपालिकाबाट ७ विद्यालयका २९७ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा २२ जना विद्यार्थी उर्तीण भए । गाउँपालिकाले समग्रमा ७.४ प्रतिशत उर्तीण गरायो । भने सबैभन्दा कमजोर नतीजा रहेको अपिहिमाल गाउँपालिकाका ४ वटा माध्यमिक विद्यालयबाट १३० जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा ९ जना विद्यार्थीमात्रै उर्तीण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।
स्थानीय तहमा कमजोर नतीजा आउनुमा स्थानिय तहबाट शिक्षकको दक्षता अभिवृद्धि र विद्यार्थीहरुको सिकाइमा सुधार हुने किसिमले विद्यालयहरुको सुपरीवेक्षण तथा अनुगमन नहुनु कारक रहेको शिक्षाका जानकार बताउँछन् ।
शिक्षा विकास तथा समन्वय इकाईले गरेको विश्लेषणअनुसार कमजोर नतीजाको कारणमा अधिकांश विद्यालयहरुमा प्रधानाध्यापक तथा बिषयगत शिक्षकहरु विद्यालयमा बढी अनुपस्थित रहने, सामुदायिक विद्यालयहरुप्रति अभिभावकको चासो नहुनुपनि मानेको छ ।
विद्यालय व्यवस्थापन समितिहरु आपनो काम कर्तव्य र जिम्मेवारीको बारेमा अनविज्ञ हुनु पनि समस्या हो, शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रास लक्ष्मी जोशीले भने, ‘सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुका छोराछोरीहरु सम्बन्धित विद्यालयमा अध्ययन नगराउनुपनि कमजोर नतीजाको कारण हो ।’ सरकारी शिक्षकले आफ्ना छोराछोरी आफुँसगै राखेर पढाए केही सुधार पक्कै हुन्छ ।
बिषयगत शिक्षकहरुले तोकिएको समयमा आपनो बिषयको कोर्स पुरा गर्न नसक्नु तथा शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्दा परीक्षामुखी तयारी गराउन सकेका छैनन् । स्थानिय तहबाट भर्ना भएका शिक्षकहरु योग्य र दक्ष नभएर राजनीतिक पहुँचले पनि शिक्षाको नतीजा कमजोर आएको छ । यसलाई स्वीकार गर्नुपर्छ उनले भने ।
महेन्द्र नमूना मावि खलंगाका शिक्षक अभिभावक सँंघका अध्यक्ष खडक बडाल स्थानीय तहले शिक्षालाई प्राथमिकतामा नराख्दा पनि नतीजा खस्किएको बताउँछन् । उनले थपे, ‘स्थानीय तहले शिक्षामा कति र कस्तो लगानी गरेको छ भन्ने पनि प्रश्न उब्जिएको छ ।’ स्थानीय तहले भर्ना गरेका शिक्षकहरु राजनीतिक पहुँचको भरमा भर्तिभएका छन् । प्राविका शिक्षकहरु ल्याएर स्थानीय तहका शिक्षा शाखा चलाउँछन् । अनि समग्र शिक्षामा कसरी सुधार आउँछ, उनले भने ।
प्रधानाध्यापक संघ नेपाल दार्चुलाका अध्यक्ष एवं महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशी अहिलेको नतीजाका कारण सबैले जिम्मेवारपूर्वक सोच्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘कुनै पक्षको मात्रै कमजोरी नभई नतीजा नराम्रो आउनुमा सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’
शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्ट शैक्षिक गुणस्तर अस्तव्यस्त भएको स्वीकार्छन् । ‘वार्षिक प्रति विद्यार्थी २५ हजारसम्म राज्यको लगानी भइरहेको छ । तर नतिजा यस्तो आयो भने हालत कस्तो छ भने स्पष्ट हुन्छ,’ निर्देशक बिष्टले भने ‘सम्बन्धित पालिका, कर्मचारी, विब्यसले के हे¥यो भन्ने प्रश्न आएको छ । साथै शिक्षकले के पढायो भन्ने पनि उत्तिकै पेचिलो प्रश्न भएको छ ।’
स्थानीय तहले शिक्षालाई महत्व नदिएको बुझाई निर्देशक बिष्टको छ । ‘हाम्रो ध्यान पूर्वाधार विकास अर्थात भवन बनाउनमा मात्रै गयो । शैक्षिक सामग्रीलगायत गुणस्तर बृद्धिका काम प्राथमिकतामा नपर्दा यस्तो हालत भएको हो,’ निर्देश विष्टले भने ।
अर्कोतिर शिक्षा क्षेत्र अस्तब्यस्त भएको उनको भनाई छ । पालिकामा शिक्षा अधिकृत भए पनि प्रशासनिक काममा अल्झिए र अल्झाइएका छन् । ‘शिक्षा क्षेत्रमा छाडा प्रवृति भयो । कसैको निगरानी कसैप्रति भएन,’ उनले भने ।

सात विद्यालयको नतीजा नील
माध्यमिक शिक्षा परीक्षा (एसईई) मासबैभन्दा कमजोर नतिजा आएको दार्चुलाबाट १९.९६ प्रतिशत मात्र उतीर्ण भएका छन् । जसमध्ये दार्चुलाका सात वटा विद्यालयको नतीजा नील आयो ।
दार्चुलाबाट परीक्षामा सहभागि भएका २ हजार ५७५ जना विद्यार्थीमध्ये ५१४ जना विद्यार्थीमात्रै उर्तीण भए । २ हजार ६१ जना विद्यार्थी अनुर्तीण भए । ७६ वटा माध्यमिक विद्यालयमध्ये सात वा विद्यालयले एक जना पनि विद्यार्थी उर्तीण गराउन सकेनन् ।
शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका लक्ष्मीदत्त जोशीका अनुसार लेकम गाउँपालिकाको हुनैनाथ मावि कुणी, केदारनाथ मावि धरमघर, महाकाली नगरपालिकाको अल्कापुरी मावि कोटकौतली, मालिकार्जुन गाउँपालिकाको निलपातेश्वर मावि भर्तोला, शैल्यशिखर नगरपालिकाको बद्रीनाथ मावि बोहरीगाउँ, भूमिराज मावि तौकी, मार्मा गाउँपालिकाको सल्लेधार मावि मुरैको नतीजा नील आएको हो ।
हुनैनाथ मावि कुणीबाट परीक्षामा २२ जना, केदारनाथ मावि धरमघरबाट २७ जना, अल्कापुरी मावि कोटकौतलीको २१ जना, निलपातेश्वर मावि भर्तोलाका ३ जना, बद्रीनाथ मावि बोहरीगाउँका २० जना, भूमिराज मावि तौकीका २२ जना तथा सल्लेधार मावि मुरैबाट ३५ जना विद्यार्थी सहभागि भएका थिए ।

उत्कृष्ट नतीजा ल्याउने विद्यार्थी १३ जनामात्रै
माध्यमिक शिक्षा परीक्षा २०८० मा दार्चुलाबाट १३ जना विद्यार्थीले उत्कृष्ट नतीजा ल्याएर उर्तीण भएका छन् । कुल ७६ वटा माध्यमिक विद्यालयमध्ये ७ वटा विद्यालयका विद्यार्थीले उत्कृष्ट नतीजा ल्याएर उर्तीण भएका हुन् ।
परीक्षामा जिल्लाभरीकै उत्कृष्ट नतीजा मालिकार्जुन मावि धापका विपिनसिह धामीले साधारणबाट उत्कृष्ट नतीजा ल्याएर जिल्ला टप भए । उनले ३.८४ जेपिए ल्याए । मालिकार्जुन मावि धापबाट २ जनाले उत्कृष्ट नतीजा ल्याएका छन् । उत्कृष्ट नतीजा ल्याउन अन्य विद्यालयहरुमा लटिनाथ मावि बस्कोटका १ जना, गणेश विनायक मावि सिप्टीका १ जना, सम्पाल मावि सुनसेराका १ जना, महेन्द्र मावि खलंगाका ५ जना, लटिनाथ मावि रस्कोटका २ जना तथा चौलानी इङलिस बोर्डिङ स्कूल गोकुलेश्वरका १ जना रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार