कञ्चनपुरमा बाढीले उपद्रो मच्चाएको छ । जिल्लाका कयौँ पालिकाका बस्तीहरू डुबानमा परेका छन् । बाढीका कारण पूर्व–पश्चिम राजमार्ग र अन्य सहायक मार्गमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ ।
सोमबार बिहान कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा कल्भर्ट भत्किँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
कल्भर्ट भत्किएपछि बाटो खुलाउन वैकल्पिक उपाय लगाइँदैछ । कञ्चनपुरमा निरन्तरको वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन्। भीमदत्त नगरपालिका, दोधरा–चाँदनी, पुनर्वास, कृष्णपुरसहितका क्षेत्र बढी प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ३ सय ३३ परिवारलाई सुरक्षित स्थानमा लगिएको छ। भीमदत्त नगरपालिका–१८ सुकुम्वासी बस्तीका २ सय ५० परिवार, दोधरा–चाँदनी नगरपालिका–१० का ७२ परिवार, पुर्नवास नगरपालिका–५ र ७ का ११ परिवारलाई सारिएको छ ।
बेलडाँडी गाउँपालिका–५ इमलियामा चौधर नदी पस्दा बेलडाँडी गाउँपालिका वडा नम्बर ३, ४, ५ र बेलौरी नगरपालिका–१० डुबानको जोखिममा छन्। महाकाली नदीले तटबन्ध तोडेपछि दोधारा–चाँदनी नगरपालिकाको सुन्दरनगर बस्ती डुबानमा परेको छ।
वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी–पुनर्वास–धनगढीमा आवतजावत ठप्प छ ।
बाढी घरभित्र पस्दा कृष्णपुर नगरपालिका–१ मोतिपुरका ७ महिने बालकको मृत्यु भएको छ। वर्षातको पानी घरभित्र पसेपछि उनी खाटबाट खसेका थिए।
आइतबार दिउँसो बेलडाँडी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका डम्बर चौधरी बेपत्ता छन् ।