भारतले धौलीगङ्गा ड्यामको बाँध खोल्याे, सतर्कता अपनाउन प्रशासनको आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिबार खोलेको छ । एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध शनिबार बिहान ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्म खोलिने भएको हो ।
बाँध खोलेका बेला र खोलिएको केही घण्टा पश्चात महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् । एनएचपीसी लिमिटेड, धौलिगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलासयमा पानीको प्रवाह वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो ।
बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी वारपार नगर्न पनि आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो । धौलिगङ्गा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ ।
विसं २०७० असार २ र ३ गते धौलीगङ्गाको बाँध एक्कासी खोल्दा दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँको क्षति भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार