सरकारले गम्भीर प्रकृतिका रोगको उपचारका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउन तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८१-०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी गराएका हुन् । ‘विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाइमर, पार्किन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल इनिमिया रोगमा उपचार सहुलियतका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउन तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ ।’
आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउन एक अर्ब ४३ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।
अर्थमन्त्री पुनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन भएको पनि जानकारी गराए ।
