लेकम गाउँपालिका–३ लालीस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पहिलो पटक नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको उपस्थितिमा लाली सीमा पुलमा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले सशस्त्र प्रहरी तैनाथ सीमा पुलहरुमा नेपाली झण्डा राख्ने जनाएको छ । भारतपट्टि पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफ्नो देशको झण्डा राखेकोले नेपालपट्टि पनि झण्डा राख्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्तले जानकारी दिए । उनले भने, ‘सीमा नाकामा झण्डा राख्न माथिल्लो निकायमा रिपोर्टिङ गरेर अनुमति पाएसँगै झण्डा राख्न थालिएको हो ।’
व्याँस गाउँपालिका–४ मलघट्टे, महाकाली नगरपालिका–४ पुलघाट, महाकाली नगरपालिका–९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी र लेकम गाउँपालिका–३ लालीमा झोलुङ्गे पुल सुरक्षार्थ सशस्त्र प्रहरी खटिएको छ ।
पहिलोपटक नेपालतर्फ पनि झण्डा राख्न पाउँदा आफुहरुलाई पनि गर्व महशुस भएको लेकम गाउँपालिका– ३ का वडा अध्यक्ष सुरेशसिह थापाले बताए ।


नेपालको सान : भारतसँग जोडिएको सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा




