दार्चुलाको तिंकर नाका अझै खुलेन, दोस्रो चरणमा खुलाउने तयारी

नेपाल र चीनबीचका परम्परागत नाका खोल्ने तयारी भएको छ । यसअनुसार पहिलो चरणमा सात नाका खोल्ने गरी गृहकार्य भएको छ । भने दार्चुलाको तिंकर नाका दोस्रो चरणमा खुलाउने तयारी छ ।
दार्चुलाको तिंकर र तिब्बतको बुराङ (पुलान)को डिंगाछिदे जोड्ने नाका पनि खुल्दै छ । यो भारत, चीन र नेपाल जोड्ने त्रिदेशीय विन्दुको नजिक पर्ने हुनाले दुवै छिमेकीका लागि रणनीतिक महत्वको ठाउँ हो । दार्चुलाको व्यास गाउँपालिका– १ मा रहेको नाकाको उचाइ पाँच हजार तीन सय तीन मिटर छ ।
यो नाका चार वर्षदेखि बन्द छ । दार्चुलाका झण्डै ४० परिवारले ताक्लोकाटमा व्यापार गर्दै आएका थिए । कोरोनापछि यहाँ व्यापार ठप्प छ । स्थानीयले पटकपटक माग गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले वैशाख १४ गतेबाट पास जारी गरेको छ ।
‘पहिलो चरणमा सात नाका खोल्ने विषयमा कूटनीतिक च्यानलमा चीनसँग छलफल भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘यसका लागि चीनले राखेका केही विषयमा छलफल भइरहेको छ । एक–दुई चरणको छलफलपछि त्यो टुंगिन्छ र नाका खुल्छ भन्ने विश्वासमा हामी छौँ ।’
कूटनीतिक स्रोतका अनुसार चीनले तिब्बत आवत–जावत गर्ने नेपालीको डिजिटल परिचयपत्र जारी गर्न र भ्रमण गर्ने व्यक्तिको विवरण पहिले नै जिल्ला प्रशासन कार्यालयमार्फत चीन पक्षलाई उपलब्ध गराउन आग्रह गरेको छ । तर, नेपालले भने जिल्ला प्रशासन कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा नेपालीलाई सहज आवतजावतका लागि सहजीकरण गर्न आग्रह गरेको छ ।
‘हाम्रा जिल्ला प्रशासन कार्यालयहरूले प्रवेश पास जारी गरिसकेका छन । त्यही पासका आधारमा नेपालीलाई आवतजावत गर्न दिनु भनेका छौँ । कोभिडअघिको जस्तै सहजताका लागि आग्रह गरेका छौँ,’ एक उच्च कूटनीतिक अधिकारीले भने, ‘अर्कोपटकदेखि डिजिटल पास जारी गर्छौँ भनेका छौँ । तर, तिब्बततर्फ जाने नेपालीको विवरण पहिले नै दिने कुरा व्यावहारिक हुँदैन भनेका छौँ ।’
चिनियाँ पक्षले पास लिएकामध्ये तिब्बततर्फ जाने व्यक्तिको विवरण पठाउनु भन्ने आग्रहमा सहमत हुन नसकिने नेपाली पक्षले स्पष्ट पारेको छ । ‘चीनले पूर्वसर्तका रूपमा त होइन, तर यसो गरौँ भनेर प्रस्ताव पठाएको छ । यसलाई छलफलबाट टुंग्याउन सकिन्छ भन्ने छ,’ सम्बद्ध अधिकारीले भने, ‘चीनले सात नाकाको नेपालतिरको पूर्वाधारको अवस्थाबारे पनि नेपाललाई सोधेको छ र चिनियाँ सहयोग आवश्यक परेमा जानकारी दिन आग्रह गरेको छ ।’
दोस्रो चरणमा संखुवासभा, दोलखाको अर्को नाका, मुस्ताङ, मनाङ, हुम्ला र दार्चुलामा रहेका नाका खोल्ने चीनको तयारी छ । हाल सिन्धुपाल्चोकको तातोपानीबाट तिब्बतको जाङ्मु जोड्ने नाका, रसुवाको रसुवागढीबाट तिब्बतको केरुङ जोड्ने नाका र हुम्लाको हिल्साबाट पुराङ काउन्टी जोड्ने नेपाल–चीन नाका सञ्चालनमा छन । यी तीन अन्तर्राष्ट्रिय नाका हुन।

सम्बन्धित समाचार

ताजा समाचार