दार्चुला । दार्चुला सदरमुकाम खलंगा अब सीसी क्यामराको निगरानीमा रहने भएको छ । महाकाली नगरपालिकाले चालू आर्थिक वर्षमा सदरमुकाम खलंगाका २२ वटा ठाउँमा सीसी क्यामरा जडान गरेपछि अब निगरानी गर्न सजिलो भएको हो ।
नगरपालिकाले झण्डै १० लाख रुपैयाँ बजेट खर्च गरेर सदरमुकाम खलंगाको वडा ४ मा मात्रै नयाँ पुराना २२ वटा सीसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले बताइन् । नगरपालिकाले १४ वटा नयाँ तथा ८ वटा पुराना क्यामरा मर्मत सम्भार गरेर जडान गरेको छ ।

नगरभित्रको शान्ति सुरक्षाको अवस्थाबारे निगरानी गर्न सजिलो हुने उद्देश्यले क्यामरा जडान गरिएको उनले बताइन् । सीसी क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालयबाट हुनेछ । जडान गरिएका क्यामराको आइतबार नगर उपप्रमुख खत्री विष्ट नेतृत्वको टोलीले अनुगमन समेत गरेको छ ।
नगरपालिकाले रिगनताल नजिक २ वटा, माथिल्लो बंगाबगडको पानी ट्याक्कीमा २ वटा, बीरेन्द्र वनमा २ वटा दुरसंञ्चार कार्यालय नजिक ३ तथा मालिकार्जुन मन्दिरमा ३ वटा क्यामरा जडान गरिएको छ । मालिकार्जुन मन्दिर क्षेत्रमा पछिल्लो समय चोरीका घट्ना बढ्न थालेपछि प्रहरीले विशेष निगरानी समेत गर्दै आएकोछ । अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
यस्तै राधाकृष्ण चोक, प्रेम सालिक, लटिनाथ छापाखाना, भन्सार कार्यालय नजिक २÷२ वटा क्यामरा जडान गरिएको छ । बजारमा जोडिएका सीसी क्यामराले प्रहरीले दिनहुँ हुने अपराध नियन्त्रणमा सहज हुने विश्वास गरिएको छ ।






