दार्चुलामा महिलाहरुका लागि लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन भएका छन् । सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा महिलाहरुका लागि लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सोमबारदेखि सुरु भएको कार्यालय प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।

महिलाहरुको सरकारी सेवामा पहुँच बढाउने उद्देश्यसहित निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ । लोक सेवाका तयारी कक्षामा १५० जना महिला र शिक्षक सेवा आयोगका कक्षाहरुमा १०४ जना महिलाले सहभागिता जनाएका छन् ।

खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा शिक्षक सेवा र दार्चुला बहुमुखी क्याम्पसमा लोक सेवा आयोगका कक्षा सञ्चालन भइरहेका छन् ।
जिल्लास्थित कार्यालय प्रमुखहरुले समेत प्रशिक्षण गरिरहेका छन् । हरेक दिन बेलुकी ५ बजेदेखि कक्षा सञ्चालन भइरहेको बताइएको छ । कक्षा सञ्चालनका लागि पाँच लाख बजेट रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार