दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिका हुँदै व्याँस जोड्ने दार्चुला तिंकर सडकभन्दा छोटो दुरीको सडक निर्माण कार्य सुरु भएको छ । संघीय सरकार र व्याँस गाउँपालिकाको समपुरक बजेटमार्फत श्रीबगडबाट रामबगड, कालागाड हुँदै व्याँस जोड्ने सडक निर्माण कार्य सुरु गरिएको हो ।
व्याँस गाउँपालिका जोड्ने छोटो दुरीको तिमुरपाटा, हुती, धौलाकोट, मडगाउँ, माल सडक दुहुँ गाउँपालिका ३ तिमुरपाटाबाट सुरु गरि खेतीबाट कालागाड हुँदै व्याँस जोड्ने सडक निर्माणका लागि पटकपटक सो क्षेत्रका जग्गाधनी, स्थानीयसंग छलफल गर्दा पनि जग्गाको विवाद निस्कर्षमा नपुगेको र सडकले निकास नपाउने अवस्था सिर्जना भएपछि डिपिआर अनुसारको सडकको सुरुवाती बिन्दु जिरो पोइन्ट श्रीबगडलाई नै मानेर आइतबार ९आज० देखि सडक निर्माण सुरुवात गरिएको व्याँसका स्थानीय युवा नेता दिपक खातीले बताउनुभयो । श्रीबगडमा पुजापाठ गरेर सडक निर्माण कार्य सुरु गरिएको हो ।
व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, नेपाली कांग्रेश दार्चुलाका सदस्य नरबहादुर बम, नेकपा एमाले जिल्ला कमिटी सदस्य भगतसिंह ऐतवाल, व्याँस गाउँपालिकाका सव इन्जिनियर प्रेम कोट्टारी, व्याँस गाउँपालिका वडा नम्बर ५ का सचिव प्रयासदत्त बडू, निर्माण व्यवसायी हिरामणी तिमिल्सिनासहित स्थानीयबासीको उपस्थितिमा सडक निर्माण कार्य सुरु भएको उहाँले बताउनुभयो । विगतमा दुहुँ हुँदै व्याँस जोड्ने छोटो दुरीको सडक निर्माणका लागि दुई पटक ठेक्का भएपनि जग्गाधनी सहमत नभएपछि ठेक्का नै रद्ध भएका थिए । गत वर्ष २०७९।०८० मा तेस्रो पटक भएको ठेक्काको म्याद समेत सकिने अवस्था आएपछि पुरानो घोरेटो बाटो दार्चुलादेखि श्रीबगड, रामबगड, कालागाड हुँदै व्यासँ जाने झण्डै ९ किलोमिटर छोटो दुरीको सडक निर्माण कार्य सुरु गरिएको हो ।
नौँ किलोमिटर लामो उक्त सडक निर्माणका लागि चम्तेश्वर निर्माण कम्पनी हेटौँडासंग ७ करोड ५६ लाखमा सम्झौता भएको बताइएको छ । व्याँसबाट बडूगाउँसम्म सडक पुगिसकेको र श्रीबगडबाट बडूगाउँसम्म अहिले सडक काटिने व्याँस गाउँपालिकाले जनाएको छ ।
गत शुक्रबार मात्रै व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी र दुहुँ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष तथा दुहुँ गाउँपालिकाका प्रवक्ता देवबहादुर बम लगायतको उपस्थितिमा भएको छलफलबाट ठाडाइजर उतिसानीलाई जिरो प्वाइन्ट मानेर सडक निर्माण गर्ने सहमति भएको थियो । उक्त निर्णयमा जग्गाधनी सहमत नभएपछि दार्चुलाबाट तिंकर जाने पुरानो घोरेटोबाटो हुँदै सडक निर्माण थालिएको बताइएको छ ।