हिमालय एअरलाइन्सको काठमाण्डौ–साङ्घाई सिधा उडान शुरु

काठमाण्डौ । हिमालय एअरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान शुरु गरेको छ । एअरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान थालेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर २० मिनेटमा एक सय ३७ यात्रुसहितको जहाज साङ्घाई उडेको हो । यो जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाण्डौ फर्कनेछ । काठमाण्डौ–साङ्घाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिवार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ ।

साङ्घाईमा हिमालय एअरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै चिनियाँ पर्यटक नेपालमा आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आउँदा दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय काठमाण्डौ विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा धेरै उडानमार्फत झण्डै १५ हजार यात्रु आवतजावत गरिरहेको जानकारी दिनुभयो ।

साङ्घाई चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार