काठमाण्डौ । उखुको रस पकाएर खुदो र गुड बनाउने चलन केही ठाउँमा अझै कायमै छ । गुल्मी, कास्कीलगायतका जिल्लामा उखुको रसबाट खुदो र गुड बनाउने गरिन्छ ।
महोत्तरीलगायत तराईरमधेसका जिल्लामा भने उखुबाट मिठ्ठा अर्थात् सक्खर बनाउने गरिन्छ । पहाडी क्षेत्रमा पाखो बारीमा लगाइएको उखुको रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गरी किसानले आम्दानी गर्दै आएका छन् ।
गुल्मीको रुरु र छत्रकोट गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका मालेपाटन र ढोडबेसीँलगायतका क्षेत्रमा यो चलन कायमै छ । उखुका लागि गुल्मीको थानपति, बलेटक्सार, दिगाम, हर्दिनेटा, थोर्गा पकेट क्षेत्रको रुपमा चिनिन्छन् ।
किसानले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोगबाट खुदो र गुड बनाइ जीविकोपार्जन गर्दै आएका छन् । गुड र खुदो स्थानीय बजारका साथै पाल्पा, बुटवल, पोखरा, काठमाण्डौदेखि विदेशसम्म पुग्ने गरेको छ ।
गुल्मीको गुड र खुदो कोसेलीको रुपमा समेत प्रयोग हुन्छ । त्यस्तै, पोखरा–३२ मालेपाटन र ढोडबेँसीमा ८० परिवारले २ सय रोपनीमा उखु खेती गर्दै आएका छन् । उखुका लाक्रा मेसिनमा पेलेर रस निकालिन्छ र त्यो रसलाई आगोमा पकाउने गरिन्छ ।
त्यसलाई लामो समयसम्म उमालेपछि खुदो बन्छ । पहिला कोलमा उखु पेल्ने गरे पनि अहिले बिजुलीबाट चल्ने कोल उपलब्ध छ । यसले अलि सहज भएको ढोडबेँसीका किसान काशी धमला बताउनुहुन्छ । अहिले गाउँबाटै खुदो र गुड बिक्री हुने गरेको छ ।
पहिला उखुको उत्पादन धेरै हुने तर मूल्य नपाउने समस्या थियो तर अहिले उत्पादन कम हुँदै गएको तर मूल्य राम्रो पाउने गरेको किसान धमला बताउनुहुन्छ ।